सागरपारि अमेरिकामा बस्ने नेपालीका लागि खबर

न्युयोर्क
काठमाडौं

नेपाल

तिहारमा ५१ लाखभन्दा बढी फूलमाला बिक्ने अनुमान, सयपत्रीको माग बढ्यो

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस तिहारमा करिब ४८ करोड रुपैयाँ बराबरका ५१ लाख ८० हजार माला बिक्ने अनुमान छ। सयपत्रीको माग ४० लाखबाट ४५ लाख माला पुगेको छ।

सयपत्री र मखमलीका माला अनि बलिरहेका तीन दियो (सांकेतिक चित्र)
चित्र: सागरपारि ग्राफिक

तिहार नजिकिँदै गर्दा नेपालमा फूलमालाको बजार तात्न थालेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (FAN) ले यस वर्षको तिहारमा करिब ५१ लाख ८० हजार फूलमाला बिक्ने अनुमान गरेको छ। थोक मूल्यका आधारमा यी मालाको कारोबार करिब ४८ करोड रुपैयाँ पुग्ने एसोसिएसनको अनुमान छ।

सयपत्रीको माग सबैभन्दा धेरै

तिहारमा सबैभन्दा धेरै प्रयोग हुने सयपत्रीको माग यस वर्ष बढेको छ। गत वर्ष करिब ४० लाख माला खपत भएकोमा यस वर्ष ४५ लाख माला बिक्ने अनुमान छ। एउटा मालाको औसत थोक मूल्य ९० रुपैयाँ हिसाब गर्दा सयपत्रीको मालाबाट मात्र करिब ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने देखिन्छ।

अन्य फूलको अनुमानित माग यस्तो छ:

  • मखमली: करिब ६ लाख माला, औसत ४५ रुपैयाँ प्रतिमाला
  • गोदावरी (क्रिसेन्थेमम): करिब २० हजार माला, औसत १,२०० रुपैयाँ प्रतिमाला
  • मिश्रित फूलको माला: करिब ६० हजार, औसत ४०० रुपैयाँ प्रतिमाला

मालाबाहेक खुद्रा सयपत्री फूल करिब ३५ लाख थान (प्रतिथान औसत ३० रुपैयाँ) र गमलाका गोदावरी फूल पनि बिक्री हुने अनुमान छ। यी सबै जोड्दा तिहारमा फूल व्यवसायको कुल कारोबार करिब ६४ करोड ५० लाख रुपैयाँ पुग्ने एसोसिएसनले जनाएको छ।

वर्षाले खेती बिगार्‍यो, केही आयात गर्नुपर्ने

एसोसिएसनका अनुसार सातै प्रदेशका २८ जिल्लामा २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रूपमा सयपत्री खेती हुन्छ। तर असोज २३ देखि २५ (अक्टोबर ९–११) सम्म परेको वर्षाले धेरै ठाउँमा सयपत्री खेतीमा क्षति पुर्‍याएको छ।

यस कारण स्वदेशी उत्पादनले करिब ४० लाख माला मात्र धान्ने अनुमान छ। बाँकी करिब ११ प्रतिशत माग आयातबाट पूरा गरिने एसोसिएसनले जनाएको छ। मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको र केही निर्यातसमेत हुने बताइएको छ।

स्वदेशी फूल किन्न आग्रह

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारमा स्वदेशी फूललाई प्राथमिकता दिँदा नेपाली किसान र फूल व्यवसायीलाई सिधै फाइदा पुग्ने बताएका छन्।

तिहारमा लक्ष्मीपूजा, भाइटीका र गाई, कुकुर, कागको पूजामा फूलमाला अनिवार्यजस्तै मानिन्छ। अमेरिकामा बस्ने धेरै नेपाली परिवारले पनि घरमा वा सामुदायिक कार्यक्रममा तिहार मनाउँदा सयपत्री र मखमलीका माला खोज्ने गर्छन्। नेपालमा भने यही मौसम फूल किसानका लागि वर्षभरिको सबैभन्दा ठूलो कमाइको समय हो।