सागरपारि अमेरिकामा बस्ने नेपालीका लागि खबर

न्युयोर्क
काठमाडौं

नेपाल

अमेरिकी दूतावासको मौसम चेतावनी: अक्टोबर २९–३१ मा हिमाली पदयात्रा नगर्न सुझाव

काठमाडौंस्थित अमेरिकी दूतावासले चक्रवात 'अर्णव' को असरबारे अमेरिकी नागरिकका लागि मौसम चेतावनी जारी गर्दै अक्टोबर २९–३१ मा उच्च हिमाली पदयात्रा र अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ।

वर्षा र हिमपात भइरहेको हिमाल र चेतावनी चिन्हको सांकेतिक चित्र
चित्र: सागरपारि ग्राफिक

बंगालको खाडीमा बनेको चक्रवात 'अर्णव' को असर नेपालमा पर्ने चेतावनीपछि काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार (अक्टोबर २७) नेपालमा रहेका अमेरिकी नागरिकका लागि मौसम चेतावनी (Weather Alert) जारी गरेको छ। तिहारका बेला नेपाल पुगेका वा जाने तयारीमा रहेका अमेरिकी पासपोर्टधारी नेपालीका लागि पनि यो सूचना काम लाग्ने छ।

सागरपारिले यसअघि जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनबारे समाचार प्रकाशित गरेको थियो। अब अमेरिकी सरकारले पनि आफ्ना नागरिकलाई औपचारिक रूपमा सतर्क गराएको हो।

कहाँ र कहिले?

दूतावासका अनुसार नेपालको मौसम विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अक्टोबर २९ देखि ३१ (कात्तिक १२–१४) सम्म खराब मौसमको चेतावनी दिएका छन्। सबैभन्दा बढी असर अक्टोबर ३० र ३१ मा पर्ने अनुमान छ।

  • कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश: भारी वर्षा, चट्याङ र हावाहुरी
  • कर्णाली र सुदूरपश्चिमका केही भागसहित देशभरका उच्च हिमाली क्षेत्र: भारी हिमपात

यसले बाढी, पहिरो, लेदो बग्ने, हिमआँधी र हिमपहिरोको जोखिम बढाउने र सडक, घरेलु उडान तथा पदयात्रा प्रभावित हुन सक्ने दूतावासले जनाएको छ।

पदयात्राको मौसम, त्यसैले बढी सावधानी

यो चेतावनी पदयात्राको मुख्य मौसममा आएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले राष्ट्रिय समाचार समितिलाई दिएको जानकारीअनुसार असोज महिनामै अन्नपूर्ण क्षेत्रमा ३२,९६३ विदेशी पर्यटक पुगेका थिए। दसैं र तिहारबीच धेरैले पदयात्रा गर्ने भएकाले कात्तिकमा पनि हिमाली मार्गमा भीड हुन्छ।

दूतावासको सुझाव

  • अक्टोबर २९–३१ मा उच्च हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहण नगर्नुहोस्। पहिल्यै पुगिसक्नुभएको छ भने सुरक्षित ठाउँमै बस्नुहोस् र अघि बढ्नुअघि स्थानीय अधिकारी र गाइडसँग सोध्नुहोस्।
  • खासगरी भर्खरै बाढी आएका वा पहिरो जाने ठाउँमा अनावश्यक यात्रा नगर्नुहोस्।
  • बाढी आएको सडक वा खोला पार नगर्नुहोस्।
  • मौसम विभाग (dhm.gov.np) र प्राधिकरण (ndrrma.gov.np) का ताजा सूचना हेर्नुहोस्।
  • उडान वा टुर रद्द भयो कि भनेर एयरलाइन्स र टुर कम्पनीसँग बुझ्नुहोस्, र परिवारलाई आफू कहाँ हुनुहुन्छ भनेर जानकारी दिइराख्नुहोस्।

आपत्कालीन सम्पर्क

  • अमेरिकी दूतावास, काठमाडौं: +977-1-423-4000, KathmanduACS@state.gov (आपत्कालीन अवस्थामा मात्र फोन गर्न आग्रह)
  • अमेरिकी विदेश मन्त्रालय (Consular Affairs): अमेरिकाबाट 888-407-4747, विदेशबाट +1-202-501-4444
  • नेपाल प्रहरी: १००; सशस्त्र प्रहरी: १११४
  • सरकारी विपद् तथा उद्धार हटलाइन: १२३४
  • परराष्ट्र मन्त्रालयको विदेशी नागरिक आपत्कालीन टोली (बिहान ७ देखि राति १० बजेसम्म): +977-9744441227 वा +977-9744441228 (फोन/WhatsApp), emergency@mofa.gov.np

नेपालमा परिवार छ भने शुक्र–शनिबारको लामो यात्रा वा हिमाली घुमाइ एक–दुई दिन सार्न सम्झाउनुहोस्। चक्रवातको बाटो र वर्षाको मात्रा अझै फेरिन सक्ने भएकाले आधिकारिक बुलेटिन नियमित हेर्नुहोस्।